तालिम

क) अाधारभुत तथा अभिवृद्धि तालीम

यस केन्द्र र अन्तर्गत केन्द्रमा जनरल मेकानिक्स, विद्युत जडान, प्लम्बिङ्ग, केश श्रृंगार, कटाई सिलाई, इलेक्ट्रोनिक्स मर्मत, मोटरसाईकल मर्मत, अटोमेकानिक्स, कम्प्यूटर, बेतबांस, ढाका बुनाई, वेल्डिङ्ग, पम्पसेट मेकानिक्स, सिकर्मी, तालीमहरु संचालित छन्


ख) अावासीय महिला सीप विकास तालीम

स्वीकृत कार्यक्रम तथा बजेटको अधिनमा रही लक्षित समूहका महिलाहरुका लागि आवासीय महिला सीप विकास तालीम संचालन गरिन्छ। यस तालीमबाट विपन्न तथा असहाय महिलाहरुमा आर्थिक उपार्जन गर्न सक्ने क्षमताको विकास गरी आत्मनिर्भर बनाउने लक्ष्य लिईएको छ। लक्षित समूहका महिलाहरुलाई दिइने यस प्रकारको आवासीय तालीम अवधिमा खाना सहितको आवासीय सुविधा सम्बन्धित केन्द्रले प्रदान गर्नेछ। हाल यस किसिमको तालीम हेटौंडा र वुटवलमा संचालन भइरहेको छ। २०७२ बैशाख १२ गतेको भुकम्पले भैंसेपाटी केन्द्रको मुख्य भवन पूर्ण रुमपमा क्षति भएकोले आ.व. २०७२/७३ मा संचालन हुन नसकेको। भवन पुर्ननिर्माण पश्चात पुनः तालीम संचालन गर्न सकिने। यो तालीम अन्य केन्द्रमा समेत विस्तार गर्ने योजना रहेको छ।


ग) युवा स्वरोजगार तथा वैदेशिक रोजगारमूलक विशेष सीप विकास तालीम

लक्षित वर्गहरु (विशेष गरी दलित, जनजाति, विपन्न एवं पिछडिएका महिला, शहिदका परिवार पुनस्थापित, जनआन्दोलनका घाइते) को लागि प्राथमिकता दिई वैदेशिक एवं यूवा स्वरोजगार सम्वन्धी विषेश सीप विकास तालीम (४ हप्ता देखि ६ हप्ता सम्म) संचालन गरिएको छ। विशेष सीप अन्तर्गत केयर गिभर, सेल्स गर्ल, उड कार्भिङ्ग, सेक्युरिटी गार्ड (महिला, पुरुष), च्याउ खेती, साना होटल व्यवस्थापन, ग्रामिण पशु कार्यकता, स्काफोल्डिङ्ग, सटरिङ्ग कार्पेन्ट्री, स्टिल फिक्स्चर, कूक, थाङ्का पेन्टिङ्ग, नर्सरी व्यवस्थापन, फ्रन्ट अफिस मेनेजमेन्ट जस्ता वैदेशिक एवं स्वरोजगार खालका उल्लेखित लगायत विविध खाले सम–सामयिक राष्ट्रिय/अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप थप संख्यामा तालीम संचालन गर्दै लगि स्वरोजगार तथा वैदेशिक रोजगारको अवसर उपलब्ध गराई यूवा वर्गको आय आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिनेछ।


घ) एक हप्ते उद्यमीलता विकास तालीम

व्यवसायिक तथा प्राविधिक सीप भएका दक्ष श्रमिकहरुलाई लक्षित गरी स्वदेशमै स्वरोजगारमूलक व्यवसाय संचालन गर्न उद्यमशीलता सम्बन्धी तालीमहरु केन्द्र मार्फत संचालन गरिनेछ। केन्द्रबाट मध्यम र लामो अवधिको तालीम लिने प्रशिक्षार्थीहरुलाई तालीमको अन्तमा न्यूनतम् ५ कार्यदिनको उद्यमशीलता तालीम दिइन्छ।


ङ) पाठ्यक्रम विकास र परिमार्जन

सीपमूलक तालीमहरुको पाठ्यक्रम निर्माण र परिमार्जन गरी लागु गर्ने काम ललितपुर भैंसेपाटी केन्द्रको हुनेछ। हाल संचालन/प्रयोजनमा आइरहेका विभिन्न खाले व्यावसायिक, सीपमूलक, वैदेशिक रोजगारमूलक तालीमका पाठ्यक्रमहरु समसामयिक, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप परिमार्जन गर्दै लाने तथा नयां परिवर्तित प्रविधि अनुरुपका आवश्यक तालीमका विषयहरुका पाठ्यक्रम समयानुकूल बनाउंदै लगिनेछ।


च) दोहोरो मार्ग प्रणाली (Double Track System) तालीम

कुनै पनि सरकारी निकायबाट कुनै पनि विषयको प्रशिक्षक प्रशिक्षण अभिमुखिकरण व्यवस्थापन, क्षमता विकास, सीप विकास तालीम संचालन र व्यवस्थापन गर्न माग भई आएमा केन्द्रको वार्षिक कार्यक्रमहरुमा असर नपर्ने गरी स्वीकृत पाठ्यक्रम नर्म्स बमोजिम ललितपुर भैंसेपाटी केन्द्रले तालुक निकायलाई जानकारी दिई दोहोरो मार्ग प्रणाली अन्तर्गत तालीम कार्यक्रम संचालन गर्न सक्ने व्यवस्था छ। जस अन्तर्गत TOT तालीम, EPS अन्तर्गत कोरिया प्रस्थान पूर्वको १ हप्ते अभिमुखीकरण तालीम प्रदान गरिंदै आएको छ।